प्रधानमन्त्री बालेन शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन नागरिकस्तरबाटै साथ र समर्थन गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आज एक सन्देश जारी गर्दै यसपटक कर्णाली प्रदेशमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशका लागि गौरवको विषय भएको बताएका हुन्।
उनका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ भने मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन्। प्रतियोगितामा राष्ट्रिय स्तरका ८ हजारभन्दा बढी खेलाडी, अफिसियल तथा खेल अधिकारीहरू कर्णाली प्रदेशका विभिन्न जिल्लामा सहभागी हुनेछन्।
कर्णालीले पहिलोपटक यति ठूलो खेलकुद महाकुम्भ आयोजना गर्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान तथा खेल पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै, खेलकुदका माध्यमबाट कर्णालीको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
हरेक दुई वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताका हालसम्म नौवटा मात्र संस्करण आयोजना हुनु दुःखद पक्ष भएको प्रधानमन्त्री शाहले बताएका छन्। आगामी दिनमा प्रतियोगितालाई नियमित रूपमा आयोजना गर्न र यसको स्तर अभिवृद्धि गर्न सरकारले गम्भीरतापूर्वक काम गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन्।
















