समितिको बैठकमा बोल्न नदिएको भन्दै जब सभापति खतिवडासँग आक्रोशित बने साँसद थानी (भिडियो)

Image

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद हृदयराम थानी आक्रोशित भएका छन् ।

सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद थानी बोल्दै गर्दा समिति सभापति रामहरि खतिवडाले रोकेपछि विवाद भएको हो । बैठकमा सांसद थानीले समितिमा धेरै विधेयकमाथि छलफल गर्न बाँकी रहँदा धेरै उजुरीहरु छलफलका लागि किन ल्याएको भन्दै प्रश्न गरेका थिए । ‘अख्तियारको उजुरी पनि यहीँ, विद्युत् प्राधिकरणको उजुरी पनि यहीँ, गृहको उजुरी पनि यहीँ, सारा संसारभरीको उजुरी राखेर सक्छ त राज्य व्यवस्था समितिले ?’ प्रश्न गर्दै थानीले भने, ‘विधेयक अड्किएर बसिरहेका छन् यहाँ । अस्ती न्यायपरिषदको विधेयक पास गर्यौं, संसदमा गएर सुतेर बसेको छ । भ्रष्टाचारको पास गर्यौं त्यो पनि जाँदै होला । अख्तियारको यहीँ, म त आईसीयूमा भन्ने गरेको छु, राज्य व्यवस्थामा यहीँ आईसीयूमा सुतिराख्या छ । अरु विधेयकहरु यहीँ छरिएर बसिराख्या छन् ।’

सो क्रममा सभापति खतिवडाले रोक्न खोजेपछि थानी आक्रोशित भएका हुन् । उनले आफु बोल्न खोज्दा सधै सभापतिले रोक्न खोजको भन्दै आपत्ती समेत जनाए । त्यसक्रममा थानीले भने, ‘तपाईं नै माननीय, तपाईं नै राज्यव्यवस्था समिति, तपाईं नै बोल्नुस् ।’

थानीले आफु संयोजक रहेको उपसमितिको प्रतिवेदन समेत थन्काएर राखिएको उल्लेख गरे । सभापति खतिवडाले सबैको सहमतिमा विधेयक अघि लैजाने भन्दै सांसद थानीलाई बोल्न आग्रह गरेका थिए । तर सांसद थानीले भने सभापतिको कार्यशैलीको विरोध गर्दै आफ्नो भनाइ अघि बढाउन अस्वीकार गरेका थिए । रामहरिले भने, ‘काटेको होइन । आईसीयूमा छ भन्नु हुन्छ । लाने हो, सहमतिमै लाने हो ।’

तर थामीले अब नबोल्ने अडान राख्छन्, ‘म बोल्दिनँ भनेपछि अब बोल्दिनँ । भैगो बोल्नुस्, तपाईं । जति बोल्नुहुन्छ, बोल्नुस् । तपाईं नै हुनुहुन्छ सभापति । तपाईंले सबै जान्नुभाछ, तपाईं नै बोल्नुस्, म बोल्दिनँ ।’

Share