चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताए । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उनले भने, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।”
भूकम्पबाट ओखलढुंगामा एउटा माटोको घर चर्किएको नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार, संखुवासभामा टिनको छाना भएको एउटा घरमा सामान्य क्षति पुगेको छ । रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । यस्तै, सिन्धुपाल्चोकको फुल्पिङकट्टीस्थित प्रहरी चौकीको भवनको भित्ता चर्किएको छ ।
यसैगरि सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै बारामा ११ विद्यार्थी बेहोस भएका छन् । तर, उनीहरूको अवस्था अहिले सामान्य छ ।
यस्तै, काठमाडौंको स्युचाटारमा एक व्यक्तिलेले छतबाट हाम फालेका छन् । उनको दुवै खुट्टामा चोट लागेको प्रवक्ता अधिकारीले बताए । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न भागमा महसुस गरिएको थियो ।















