काठमाडौं– खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको फाइनल खेल हुँदैछ । दुवैतर्फ नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । महिलातर्फको फाइनल खेल भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा बेलुका ७ बजे सुरु हुनेछ । यस्तै पुरुषतर्फको खेल राति सवा ८ बजे सुरु हुनेछ ।
नेपालको महिला टोली समूह सीबाट अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुरुष टोली समूह ‘ए’को उपविजेता हुँदै फाइनल पुगेको हो ।
पुरुषतर्फ नेपालले सेमिफाइनलमा इरालाई हराएको थियो भने महिलातर्फ युगाण्डालाई पराजित गरेको थियो । खो खो खेल खासै चर्चित नभएपनि अहिले भइरहेको खो खो विश्वकपबाट भने यस खेलले राम्रै चर्चा पाएको छ । पहिलोपटक विश्वकप हुँदा नै नेपालको पुरुष र महिला टोली फाइनल पुगेपछि नेपालमा पनि अहिले खो खो खेलको बारेमा चर्चा बढेको छ ।
कुनै हल्ला नगरिकन चुपचाप एक महिना क्लोज क्याम्प राखेर भारतको नयाँ दिल्ली पुगेको नेपाली खो खो टोलीले विश्वकपमा सनसनी मच्चाउँदा अहिले समग्र नेपाली खेल जगतमा खो खो खेलको पनि चर्चा धेरै छ ।
अहिलेसम्म नेपालबाट कुनै पनि खेलले विश्वकपमा यो स्तरको प्रदर्शन गरेको यो पहिलोपटक हो ।
















