जापानमा नेपाली पढाउने विद्यालयको लहर, एभरेष्टलाई चाप धान्नै गाह्रो (भिडियो)

Image

नेपालमा विदेशी भाषाप्रतिको लगाव बढिरहेका बेला जापानमा भने नेपाली भाषा पढाउने विद्यालयलाई विद्यार्थीको चाप धान्न मुस्किल परेको छ । टोकियो शहरमा अवस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा विद्यार्थीको आकर्षण बढेसँगै चाप धान्न मुस्किल परेको हो ।

तीन भिन्न स्थानमा रहेका स्कुलका शाखामा नेपालीसँगै भारतीय, फिलिपिनी र नामिबियाका ४ सय बढी विद्यार्थी अध्ययनरत छन् । तर, प्रत्येक दिन भर्नाका लागि आउने नयाँ विद्यार्थीका अभिभावकलाई भने कोटा पुरा भएको भन्दै फिर्ता पठाउने गरिएको छ । विद्यालयले विकास गरेका सीमित पूर्वाधारका कारण माग अनुसारको भर्ना लिन नसकेको सञ्चालक समितिका उपाध्यक्ष मेघराज नेपाल बताउँछन् ।

जापानमा रहेका अभिभावकले आफ्ना बालबालिकालाई अन्तराष्ट्रियस्तरको प्रतिस्पर्धा गर्न सक्ने बनाउनका लागि एभरेष्ट स्कुलमै भर्ना गर्न खोज्ने गरेको नेपालको भनाई छ । जापानको आप्रवासन नीति र बदलिँदो परिवेशमा विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षाका लागि एभरेष्ट स्कुलको पाठ्यक्रम नेपालीका लागि सुहाउँदो देखिन्छ ।

भोलि जापान छाडेर नेपालमै फर्कनुपर्ने अवस्थामा होस वा अमेरिका, अस्ट्रेलिया, युरोप वा क्यानडाजस्ता मुलुकका निम्ति अङ्ग्रेजी र नेपाली माध्यमकै पढाई उपयुक्त हुने बुझाई अभिभावकहरूको छ । तुलनात्मक रूपमा सस्तो र नेपाल फर्किएर केही गर्न खोज्नेहरूका लागि समेत उपयुक्त हुने बागलुङका सोमनाथ पौडेल बताउँछन् । जापानमा लामो समय बसे पनि स्थायी बसोबासको अनुमति पत्र पाउन विभिन्न कठिनाइ हुने गरेका छन् । यस्तो अवस्थामा भिसा सकिएर वा त्यागेर जाँदा समेत नेपाली पाठ्यक्रममा आधारित शिक्षाले सहज हुने उनको बुझाई छ ।

टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो । अङ्ग्रेजी माध्यमबाट पढाई हुने भएकाले नेपाली पाठ्यक्रम अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी विद्यार्थी पनि आउने गरेका छन् । एभरेष्टमा नेपालीसँगै २५ जना जापनिज, इन्डियन र जाम्बियाका विद्यार्थीले अध्ययन गरिरहेको सहायक प्रधानाध्यापक राजेन्द्र तामाङले सुनाए ।

नेपालीसँगै अन्य देशका विद्यार्थी समेत आउन थालेपछि विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको छ । विद्यालयको क्षमता भन्दा धेरै विद्यार्थी भर्ना गर्न नमिल्ने हुँदा अध्ययन गर्न चाहने सबै विद्यार्थीलाई भर्ना लिन नसकिरहेको तामाङ बताउँछन् । उनले भने ‘पछिल्लो समय एभरेष्टमा पढ्न चाहने विद्यार्थी ह्वात्तै बढेका छन् । तर हाम्रो स्रोत र साधनले नधान्ने हुँदा सबैलाई लिन सकिरहेका छैनौँ ।’

सबैभन्दा धेरै विद्यार्थी रहेको ओगिकुबो बाहेक एभरेष्टले ओकुबो र आसागायामा पनि शाखा स्कुल चलाएको छ । भाडामा चलाएको भवनमा मागअनुसार विद्यार्थी सङ्ख्या बढाउन नसकेकाले फराकिलो स्थानको खोजी भइरहेको सञ्चालकहरूको दाबी छ ।

गएको वर्ष मात्रै जापानबाटै एसइईको परीक्षामा २३ जना विद्यार्थी सहभागी गराएको एभरेष्ट इन्टरनेशनल स्कुलका कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको पढाई हुन्छ । यसका लागि नेपालबाट जापान पुगेका दक्ष शैक्षिक जनशक्तिसँगै नेपालबाट समेत अनलाइन कक्षा चलाउने गरेको सहायक प्रिन्सिपल तामाङले जानकारी दिए ।

जापानमा नेपालीको सङ्ख्या बढेसँगै १२ वर्षअघि सुरु भएको विद्यालयले नेपाली पाठ्यक्रममार्फत नेपाली भाषा र संस्कृति मात्रै सिकाएको छैन, नेपाली समुदायको लगानीमा सञ्चालित विद्यालयले ५ दर्जन बढिलाई रोजगारी समेत दिँदै आएको छ । एभरेष्ट इन्टरनेशनल स्कुलमा हाल ६२ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । शिक्षक कर्मचारीका रूपमा कार्यरत उनीहरूमध्ये केही फिलिपिनी, जापनिज र अमेरिकन समेत छन् ।

त्यसो त जापानमा नेपालीको चाप बढेसँगै विद्यालय खुल्ने लहर पनि चलेको छ । हाल एभरेष्टसँगै जापानमा अन्य दुई नेपाली विद्यालय पनि सञ्चालनमा छन् । टोकियोकै कोइवामा हिमालयन इन्टरनेशनल एकेडेमी र नागोयामा तोकाई वाटिका इन्टरनेशनल स्कुल सञ्चालनमा छन् ।

यसैगरि चिवा र ओशाकामा समेत नयाँ स्कुल सञ्चालनको प्रक्रिया थालिएको बुझिन्छ । जापानमा नेपाली समुदाय बढेसँगै नेपाली विद्यालयको आवश्यकता महसुस गरी विद्यालय सञ्चालनका लागि धेरैले चासो देखाएकाले नेपाली भाषा र पाठ्यक्रममा आधारित विद्यालयको सङ्ख्या थपिन सक्ने देखिन्छ । तर, नेपालकै पाठ्यक्रममा आधारित शिक्षामा नेपाली अभिभावकको आकर्षण बढे पनि विद्यालयमा आवश्यकता अनुसारको पूर्वाधार भने तयार हुन सकेको छैन ।

जापान सरकारले नै एभरेष्ट स्कुलजस्ता विद्यालयलाई अन्तर्राष्ट्रिय विद्यालयको मान्यता दिएको छ । यसर्थ यस्ता विद्यालयको पूर्वाधार विकासमा समेत जापान सरकारसँग कूटनीतिक पहल गर्न सके नेपाली समुदायका निम्ति ठुलो राहत हुने एनआरएन जापानका पूर्व अध्यक्ष ओम गुरुङको भनाई छ । जापानका धेरै स्थानमा पुराना विद्यालयका भौतिक संरचना अहिले प्रयोगहीन रहेको अवस्थामा नेपाल सरकारले जापान सरकारसँगै कूटनीतिक रूपमा यस्ता संरचना नेपाली समुदायको शिक्षाका लागि प्रयोग गर्ने पहल थाल्नुपर्ने गुरुङ बताउँछन् ।

जापानमा रहेका नेपालीमा बढ्दो डिप्रेसनको समस्याले आत्महत्याका घटनामा वृद्धि

टोकियोमा ‘देउता बनाउने कारखाना’ को कर्मभूमि लोकार्पण, ऐतिहासिक उपस्थिति