फागुन २५ गतेबाट चैत १६ गतेसम्म चल्ने प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट तीनवटा रंगशालामा हुने भएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका सार्वजनिक गर्दै तिनवटा मैदानमा खेल हुने जानकारी गराएको छ । प्रधानमन्त्री कपका खेलहरु सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको पहिलो दिन फागनु २५ गते तीनवटा खेल हुनेछ । पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बागमती प्रदेश र एपीएफ क्लब तथा लमही क्रिकेट मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।
प्रतियोगिताको दोस्रो दिन २६ गते पनि तीन खेल हुनेछ । दोस्रो दिन सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।
