संसद्मा माओवादीको प्रश्न: आफैं फेल भएको सरकारले कुलमानलाई कार्यसम्पादनमा शून्य अंक दिन मिल्छ ? (भिडियो)

Image

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुमलान घिसिङलाई सरकारले हटाउन अनेक बाहना गरेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफैं फेल भएको सरकारले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाएका हुन् । कुलमानले आफ्नो कार्य सम्पादनमा झण्डै ९९ अंक दाबी गरेका थिए । तर, सरकारले शून्य अंक दिएको छ ।

‘कूलमानलाई निरन्तर सरकारले प्रष्टीकरण सोध्ने कुरा हामी बारम्बार सुनिरहेका छौं । उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हामीले सुनेका छौं । सरकार जसले एउटा राम्रोसँग काम गरेको, निरन्तर विषयवस्तुलाई बेवास्था गरिरहेका छ । जसले विद्युत प्राधिकरणलाई नाफामा लगेको छ । आम नागरिकले राम्रो भनेका छन् । जनताले विद्युत प्राधिकरणलाई राम्रो भनेका छन् । तर, सरकारले शून्य अंक दिएको भनेर हामीले सुनेका छौं । सरकारको आफ्नै मन्त्रालयको मूल्यांकन नहेर्ने र ठीक ढंगले प्राधिकरणमा काम गरिरहेका व्यक्तिलाई शून्य अंक दिएको छ । त्यतिमात्र होइन् । लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि निरन्तर प्रतिशोध साँधिएको छ’ उनले भने ।