पिएम कप : अपराजित रहँदै एउटा खेल खेल्नुअघि नै पुलिस फाइनलमा

Image

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेश टिमलाई ४४ रनले पराजित गर्दै फाइनलमा पुगेको छ। पुलिसले अझै एउटा खेल खेल्न बाँकी नै छ ।

आजको खेलमा जितसँगै ८ खेलबाट १६ अंक जोडेको पुलिस अङ्क तालिकाको शीर्षमा छ । अन्तिम खेलमा पराजित भए पनि पुलिसलाई कुनै असर पर्ने छैन । आजको खेलमा पराजित कर्णाली भने ९ खेलबाट ८ अंक जोडेर अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।

खेल जित्नका लागि पुलिसले दिएको १४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमै जम्मा १०३ रनमात्र बनाएर अल आउट भयो र ४४ रनले पराजित हुन पुग्यो । कर्णालीका लागि रविन्द्र शाहीले ४९ रन र अर्जुन घर्तीले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि ललित राजवंशीले ९ ओभरमा ४१ रन दिएर सर्वाधिक ६ विकेट लिए । सागर ढकालले २ विकेट र करण केसीले एक विकेट लिए ।

लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । 

पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै ४ चौका र १ छक्का हाने । दिलीप नाथले ५९ बलमा २ चौकासहित ३४ रन बनाए ।

यसैगरी सागर ढकालले अविजित  २२ रन, अमित श्रेष्ठ ७, गुल्सन झाले ८, ललितनारायण राजवंशीले ७, करण केसीले ६ तथा श्रवण यादवले ११ रन बनाए ।

बलिङतर्फ कर्णालीका लागि अर्जुन चनाराले ४, कप्तान दिवान पुनले ३ तथा दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनील धमलाले १/१ विकेट लिए ।

दाङमा पहिलो पटक आयोजना भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ भने कर्णाली प्रदेश पाँचौँ स्थानमा छ ।