दुर्गा प्रसाईंलाई जहाजमार्फत काठमाडौँ ल्याइँदै (भिडियो)

Image

भारतको आसमस्थित भारतीय प्रहरीको सम्पर्कमा पुगेका दुर्गा प्रसाईंलाई विमानमार्फत काठमाडौँ ल्याइने भएको छ । उनलाई हाल काँकडभिट्टा नाकाको मेची पुल हुँदै झापा ल्याइएको केही बेरमा विमान मार्फत काठमाडौँ ल्याइने स्रोतले बतायो ।

तीनकुने प्रदर्शन हिंसात्मक भएपछि भागेर भारत पुगेका कमान्डर दुर्गा प्रसाईँ बिहीबार साँझ प्रहरीको सम्पर्कमा पुगेका थिए ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न रहेको आरोपमा प्रसाईं माथि अनुसन्धान भइरहेको थियो । सो घटनामा दुई जनाको मृत्यु भएको थियो र त्यसपछि प्रसाईं भारत फरार भएका थिए । सुरुमा उत्तराखण्डमा रहेको भनिएका उनी त्यहाँबाट भागेर आसाम पुगेका थिए ।

स्रोतका अनुसार प्रदर्शन लगत्तै भागेर भारतको आसाम पुगेका प्रसाईले सुरक्षा खतरा महशुस गरि भारतको आसामस्थित प्रहरीमा पुगेर नेपाल प्रहरीसँग सम्पर्क गरेका थिए । भारत पुगेपछि दुईवटा भिडियो समेत फेसबुकमा पोष्ट गरेका उनलाई खोज्न नेपाल प्रहरीको विशेष ब्यूरो भारतमा समेत पुगेको थियो ।

खोजीका लागि प्रहरी पुगेको सुचना पाएपछि सामाजिक सञ्जाल समेत नचलाएर गुपचुप बसेका प्रसाईले बुधबार मात्रै आफू भागेको नभई आफुमाथि इनकाउण्टरको तयारी भएकाले जोगिएर बसेको बताएका थिए ।

यता नेपाल प्रहरीले भने दुर्गा प्रसाई आसाम प्रहरीमा आफैं पुगेको र आसाम प्रहरीमार्फत नेपाल प्रहरीको सम्पर्कमा आएको विषयलाई अझै खण्डन गरिरहेको छ ।

नेपाल भारत सन्धीमा रहेका केहि प्राबिधिक जटिलताका कारण दुर्गा प्रसाईलाई प्रहरीले समातेर नेपाल ल्याउन अप्ठ्यारो हुने भएकाले काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेपछि मात्रै प्रहरीले पक्राउ गरेको जानकारी दिने तयारी गरेको छ ।

सुरक्षा खतरा रहेको भन्दै आफैं प्रहरी सम्पर्कमा पुगे दुर्गा प्रसाईँ