हङकङमा भएको चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको कुवेतले ७ विकेटको क्षतिमा १७४ जोडेको थियो ।
नेपालले १९.३ ओभरमा १७१ रन बनाएर सबै विकेट गुमायो । कुवेतका लागि रविजा सान्दारुवनले ३६ बलमा ६३ रन बनाए । नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए ।
तीन रनको हार बेहोर्दा नेपालका बसिर अहमदले ८० रन बनाए । उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गरे । ९२–८ को नाजुक स्थितिबाट बसिरले नवौँ विकेटका निम्ति नन्दन यादवसँग ७२ रनको साझेदारी गर्दै नेपालको आशा जगाएका थिए ।
तर, १९औँ ओभरका तेस्रो बलमा नन्दन मोहमेद साफिकबाट ‘कट एन्ड बोल्ड’ हुँदा नेपाललाई जितका निम्ति अझै १२ रनको आवश्यकता थियो । साफीबाट आउट हुनुअघि नन्दनले त्यसअघिका दुई बलमा लगातार दुई छक्का प्रहार गरेका थिए । आक्रामक ब्याटिङ गरेका नन्दनले १४ बलमा चार छक्का र दुई चौकासहित ३७ रन बनाए ।
२०औँ ओभरको पहिलो बल ‘नो बल’ हुँदा बसिरले छक्का प्रहार गरेपछि नेपाललाई ६ बलमा चार रनको आवश्यकता थियो । तर, कुवेतबाट अन्तिम ओभर बलिङका निम्ति आएका अनुदीप चेन्थामाराले लगातार दुई बल डट फ्याक्दै तेस्रो बलमा बसिरलाई क्लिन्टो अन्टोबाट क्याचा गराए ।
ओपनर आसिफ सेखले ११ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाए । यसबोहक, नेपालका कुनै पनि ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । नेपालका कुशल मल्ल गोल्डेन डक हुँदा दीपेन्द्रसिंह ऐरी डक भए ।
कुवेतका चेन्थामाराले तीन विकेट लिए । यासिन पटेल र नविनराज राजेन्द्रनले समान दुई विकेट लिँदा मोहमेद अस्लाम र मोहमेद साफिकले समान एक विकेट लिए ।
















