नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो आधिकारिक पेजमार्फत जानकारी दिँदै उक्त खेल हङकङमै आयोजना हुने जनाएको हो ।
हङकङ फुटबल संघको निमन्त्रणामा हुन लागेको यो मैत्रीपूर्ण खेल फिफाको आधिकारिक अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर अन्तर्गत पर्नेछ ।
नेपालले यसअघि गत मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट खेलमा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपाल २–० ले पराजित भएको थियो ।
अब नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत जुन १० मा लाओससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । सो प्रतियोगिताको तयारीस्वरूप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
यसै महिनामा श्रीलंकामा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता पनि नेपाली टोलीको तयारीमा थप महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
















