पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु

Image

पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् । “पाकिस्तानी सेनाले जम्मु–कश्मीरको नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमाना पारिबाट अन्धाधुन्ध गोलीबारी र तोप प्रहार गरेको छ,” भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ “यस अकारण गोलीबारीमा तीन निर्दोष नागरिकले ज्यान गुमाएका छन्,” ।

भारतीय सेनाले आफूले पनि “उचित प्रतिकार” गरिरहेको जनाएको छ। भारतले बुधबार पाकिस्तानमाथि आक्रमण गरेको थियो। भारतले गरेको मिसाइल आक्रमणमा परेर ८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ। भारतको रक्षा मन्त्रालयले भारतमाथि आक्रमण गर्न आतंकवादीहरूले प्रयोग गरिरहेका ९ विभिन्न स्थानहरूमा आफ्नो आक्रमण सीमित रहेको बताएको छ।

गत महिना भारतको कश्मीरमा आतंकवादीहरूले गरेको हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली पनि परेका थिए। भारतले यसको प्रतिशोध लिने चेतावनी दिँदै आएको थियो। बुधबार पाकिस्तानका विभिन्न स्थानहरुमा भएको आक्रमण त्यसैको प्रतिक्रिया हो भनिएको छ।

यस घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।’

पाकिस्तानी सेनाले ‘हवाई र जमिनी’ रूपमा जवाफ दिने बताएको छ।