भीआईपी बिदाइ, रेड कार्पेट र गार्ड अफ अनर बिना अमेरिका उड्दै प्रधानमन्त्री बालेन

Image

प्रधानमन्त्री वालेन्द्र शाहले विमानस्थलमा देखिने वर्षौँ पुरानो अर्को भीआईपी परम्परासमेत तोड्ने भएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहको बिदाइका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना हुने छैन।

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा कुनै तामझाम नगर्ने शाहको अडानपछि सेनाको ‘गार्ड अफ अनर’, रेड कार्पेट र भीआईपी लाउन्जको औपचारिक बिदाइ कार्यक्रम रद्द गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रीहरू, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा विदेशी कूटनीतिज्ञलाई समेत बिदाइका लागि विमानस्थल बोलाइएको छैन। प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङस्थलसम्म पुगेर जहाज चढ्ने व्यवस्था मिलाइएको छ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म १ हजार ४ सय ५१ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ७ सय ४५ जना अझै बेपत्ता छन्। यही राष्ट्रिय विपद्का कारण प्रधानमन्त्री शाहले महासभा भ्रमण रद्द गर्नेसम्मको छलफल गरेका थिए। तर, विश्व मञ्चमा नेपालको दुखद् स्थिति र जलवायु परिवर्तनका एजेन्डा उठाउनुपर्ने भएकाले उनी अन्तिम समयमा न्युयोर्क जाने निर्णयमा पुगेका हुन्।

न्युयोर्कमा रहँदा विभिन्न देशका सरकार प्रमुखहरूले द्विपक्षीय भेटवार्ताका लागि अनुरोध गरे पनि देशको परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहले यसपटक कसैसँग पनि द्विपक्षीय भेट नगर्ने निर्णय लिएका छन्। उनले बिहीबार राष्ट्रसंघको ८१औँ महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नेछन् भने सोही दिन महासचिव एन्टोनियो गुटेरेससँग मात्र शिष्टाचार भेट गर्नेछन्। परम्परागत कूटनीतिक शैलीभन्दा फरक व्यवहारका कारण निरन्तर चर्चामा रहेका बालेनको यो निर्णयको चर्चासमेत सामाजिक सञ्जालमा भइरहेकाे छ ।

कतार एयरवेजबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्न लागेका शाहका साथमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेलसहित सीमित टोली मात्रै जानेछन्।

परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै न्युयोर्क पुगेर समकक्षीहरूसँग द्विपक्षीय छलफलमा व्यस्त भइसकेका छन्। प्रधानमन्त्री शाह आगामी शनिबार स्वदेश फर्किने कार्यतालिका छ।