कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईको कार्यक्रम बिथोलिएको छ । साकेला गाउँपालिका–३ खिदिमामा बिहीबार आयोजित सर्वदलीय, सर्वपक्षीय नागरिक भेटघाट कार्यक्रममा अवरोध भएको हो ।
समन्वय नगरी काम गरेको र गाउँपालिकाको विकासे योजना कटौती गरेको भन्दै आफ्नै गृह जिल्ला खोटाङमा मन्त्री राईविरुद्ध कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका हुन् । मन्त्री राई र गाउँपालिका अध्यक्ष राईबीच वार्तापछि कार्यक्रम सुरु भएको खोटाङका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
मन्त्री राईका सचिवालयका बाजिन्द्र विष्टले सुरुमा कार्यक्रम बिथोलिए पनि पछि एउटै मञ्चमा बसेर कार्यक्रम भइरहेको बताए । ‘गाउँपालिका अध्यक्षज्यूको भनाइ चाहिँ पहिले साकेला गाउँपालिकामा योजना राख्नुहोस् अनि आउनुहोस् भन्ने रहेछ,’ विष्टले भने, ‘सुरुमा केहीबेर कार्यक्रम अवरुद्ध भए पनि अहिले कार्यक्रम भइरहेको छ ।’














