प्रभु बैंकले युरोपको एक बैंकबाट ५० लाख डलर अर्थात ६६ करोड २७ लाख रुपैयाँ ऋण प्राप्त गरेको छ । बैंकले विद्युतीय सवारीसाधनमा लगानी गर्न भन्दै लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एस.ए. बाट ५० लाख डलर ऋण लिएको हो ।
विश्व वातावरण दिवसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न चार वर्षे अवधिका लागि ५० लाख डलर बराबरको ऋण प्राप्त गरेको बैंकले जनाएको छ । उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारी साधनहरू खरीद तथा आयातमा खर्च गर्ने बैंकको योजना छ ।
चार बर्ष अवधिका लागि बैंकले ऋण प्राप्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । जलवायु परिवर्तनले आक्रन्त विश्व यसको प्रभावबाट मुक्ति पाउन प्रयासरत छ । बैंकलाई प्राप्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरीद तथा आयातका लागि सहज रुपमा उपलब्ध गराइने उनले बताए ।
बैंकले वैकल्पिक उर्जा तथा एमएसएमई व्यवसाय प्रवर्द्धनका लागि अन्य अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्यका लागि पहल गरिरहेको छ । ‘निकट भविस्यमै हाम्रा पहलले सार्थकता पाउने विश्वास छ,’ शेरचनले भने ।















