नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो।
उमेर हद लागेसँगै ३२ वर्ष पुरा भएका व्यक्ति अनेरास्ववियुको कुनै पनि कमिटीमा पदाधिकारी वा सदस्य बस्न पाउने छैनन् । उमेर हद लगाउने निर्णयसँगै अहिलेका सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् ।
नेतृत्वको दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् । अध्यक्ष पदका बलिया दाबेरदार रहेका महासचिव नरेश रोकाया पनि उमेर हदका कारण संगठनबाट बाहिरिनेछन् ।
त्यस्तै सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हदका कारण संगठनबाट बाहिरिने भएका छन् । ३२ वर्ष उमेर नकटेका सचिवहरु दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले भने नेतृत्वमा दावी गर्न सक्नेछन् । अर्थात् उमेर हदका कारण यी जना पदाधिकारी स्वभाविक नेतृत्वको दाबेदार बनेका छन् ।
अनेरास्ववियुको आगामी २५–२८ जेठमा महाधिवेशन हुँदैछ । कीर्तिपुरमा हुने यही महाधिवेशनबाट उमेर हद लगाउने एमालेले निर्णय गरेको छ । बैठक स्रोतका अनुसार पार्टी सचिव योगेश भट्टराईले आगामी महाधिवेशनबाट लागू हुनेगरी निर्णय गर्न प्रस्ताव गरेका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले यही महाधिवेशनबाट उमेर हद लगाएर जानुपर्ने निर्णय सुनाए ।
यसअघि अनेरास्ववियुमा उमेर हद ३० वर्ष, ३२ वर्ष वा खुला नै राख्नेबारे बहस हुँदै आएको थियो। त्यसअघि अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनका लागि ३२ वर्षमुनिका नियमित अध्ययनरत विद्यार्थीलाई मात्रै प्रतिनिधि पठाउन नेकपा (एमाले) का प्रदेश इन्चार्जहरूलाई निर्देशन दिएको थियो ।
















