सदन गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकहरूबीच छलफल, गृहमन्त्रीको राजीनामा अडान कायमै

Image

सभामुख देवराज घिमिरे र सत्ता तथा प्रतिपक्षी दलका प्रमुख सचेतकहरूबीच छलफल भएको छ ।

सभामुखको सचिवालयका अनुसार मंगलबार अपराह्न छलफल भएको हो । छलफल सदनको गतिरोध हटाउने विषयमा केन्द्रित छ ।

छलफलमा प्रतिपक्षले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको समेत नाम जोडिएको भन्दै छानबिनका लागि राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने अडान छाडेका छैनन् ।

त्यस्तै सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने माग राखेका छन् । तर सत्तापक्षको मागमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी भने सहमत हुन सकेका छैनन् ।

आज मध्याह्न १२ बजे आधा घन्टाका लागि स्थगित प्रतिनिधि सभा बैठक सूचना टाँसेर साढे २ बजेसम्मका लागि स्थगित भएको थियो । उक्त समयमा पनि सदन चल्न सकेन भने सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।