प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संसद्को अवरोधका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाई फोन गरेर सदनको अवरोध खोलेर सहयोग गर्न आग्रह गरेका हुन् ।
तर, प्रचण्डले आफूहरू (विपक्षी दल) अडानप्रति स्पष्ट रहेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने जवाफ फर्काएको सांसद माधव सापकोटाले बताए ।
प्रचण्डले ओलीलाई गृहमन्त्रीको राजीनामा गराएर आफैंले सदनमा आएर जवाफ दिन भनेको सापकोटाले सुनाए । ‘प्रधानमन्त्रीले सदनको अवरोध हटाएर सदनलाई अगाडि बढाउन माग गर्नुभएको थियो । अध्यक्षले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने र सदनमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ भन्नुभयो,’ सापकोटाले भने ।
प्रचण्डले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन गराउनका लागि गृहमन्त्री लेखकले राजीनामा गर्नुपर्ने कुरा प्रधानमन्त्री ओलीसँगको कुराकानीका क्रममा बताएका थिए ।
‘भिजिट भिसा प्रकरणलाई निष्पक्ष छानबिन हुन दिनका लागि गृहमन्त्रीबाट लेखकले राजीनामा दिनुपर्छ भन्ने कुरा नै राख्नुभएको छ । विपक्षी दलहरूको बैठकले पनि सोही निर्णय गरेका छन्,’ सापकोटाले जानकारी दिए । गृहमन्त्री लेखकले भने संसद्मा बोल्नका लागि समय माग गरेको बताए ।













