पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई उच्च अदालत वीरगंज इजलासले सफाइ दिएको छ । चर्चित राजपुर बम कान्डका आरोपी आलमलाई बुधबार उच्च अदालतले सफाइ दिएको हो ।
जिल्ला अदालत रौतहटले बम कान्डमा आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतले सफाइ दिएको हो ।
संविधानसभाको पहिलो चुनाव हुने अघिल्लो दिन ०६४ चैत २७ गते । बम बनाउने क्रममा मोहम्मद आफताव आलमका काका शेख इन्द्रिशको घरमा विस्फोट भयो । विस्फोटमा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओशी अख्तर घाइते भए । घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आभियोग आलममाथि थियो ।
चुनाव जित्ने प्रयोजनका लागि पूर्वमन्त्री समेत रहेका आलमले नै बनाउन लगाएको बम विस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने त्रासमा ‘जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको’ आरोप उनीमाथि लागेको थियो । तर, प्रहरीको घटनास्थलमा मुचुल्कामा भने कुनै किसिमको विस्फोट नभएको भनेर उल्लेख थियो ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय र पुनरावेदन सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनी राय दिएका थिए । यिनै साक्ष्यहरूको आधारमा तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बन्जाडेले मुद्दा नचल्ने निर्णय गरेका थिए ।
आलमविरुद्ध लामो समयसम्म कारबाही नहुँदा पीडितहरूले अनुसन्धान अगाडि बढाउन सर्वोच्च अदालतमा निवेदन दिएका थिए । न्यायाधीशद्वय सुशीला कार्की र डा. भरतबहादुर कार्कीको इजलासले मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाउन आदेश गरेको थियो ।
सर्वोच्च अदालतको आदेशपछि १९ असोज २०७६ मा रौतहट प्रहरीले रौतहट क्षेत्र नम्बर २ का तत्कालीन सांसदसमेत रहेका आलमलाई पक्राउ गरेको थियो । थुनछेक बहसपछि रौतहट जिल्ला अदालतले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरी तीन ओटा मुद्दा दायर गरिएको थियो ।
उच्च अदालत वीरगंज इजलासले आलमलाई सफाइ दिएसँगै रौतहटको राजनीतिक क्षेत्र तरंगित भएको छ । सामाजिक संजालमा सफाइको विषयले निकै चर्चा पाएको छ । जिल्लामा सबैतिर यही विषयले चर्चा पाएको देखिएको छ ।
कांग्रेस पूर्वसांसद् अफताब आलमलाई उच्च अदालतले दियो सफाइ














