मुद्दती निक्षेपमा लगानी थप्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा एक अर्ब १७ करोड ६० लाख रुपैयाँ, विकास बैंकहरूमा २२ करोड पाँच लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूमा सात करोड ३५ लाख रुपैयाँ गरी कुल एक अर्ब ४७ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैंकले निक्षेप २०८० असार १ देखि २०८१ असार २ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले जेठ २५ गते बिहीबारसम्ममा व्याजदर प्रस्ताव पेस गरिसक्नुपर्ने छ ।

राष्ट्र बैंकको निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने छ ।

त्यसै गरी निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने जस्ता सर्त तोकिएको छ ।