‘परालको आगो’ मा ‘उडिजाऊँ भने म पन्छी हैन’ गीत समावेश गरिने

Image

निर्माणाधीन फिल्म ‘परालको आगो’ मा पुरानै कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समावेश हुने भएको छ । निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्न अनुमति लिएको छ ।

सुशिल पोखरेलको निर्माणमा बन्न लागेको फिल्म ‘परालको आगो’ का लागि संगीतकार शान्ति ठटालको निवासमै पुगेर सम्झौता भएको हो ।

४८ वर्षअघि रिलिज भएको फिल्म ‘परालको आगो’मा समावेश कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’को ‘रि-क्रिएसन’ हुने भएको हो । यो गीत सोही नामको नयाँ फिल्ममा पुनःप्रयोग हुने जनाइएको छ ।

शान्ति ठटालको संगीत रहेको यो गीतमा मनबहादुर मुखियाको शब्द र अरुणा लामाको स्वर रहेको छ । यो कालजयी गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ बोलको गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

परालको आगोका लागि यो गीत नै चाहिने हुनाले स्रष्टा ठटालकै निवास भारतको सिलगुडी पुगी संगीतकार गीतका लागि अनुमति लिइएको निर्माता पोखरेलले बताए । उनको अनुसार दुवै पक्षको कागजी सम्झौता समेत भएको छ ।

कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित फिल्म ‘परालको आगो’ मा अभिनेताद्वय जितु नेपाल, प्रकाश सपुत र अभिनेत्री सुहाना थापाले अभिनय गर्ने पक्कापक्की भइसकेको छ । केही साताअघि निर्माण टिमले उनीहरूलाई अनुबन्धित गरेको हो ।