घुस अडियो प्रकरणमा मुछिएर राजीनामा दिएका पूर्वमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पुनः सोधपुछ गरेको छ।
अनुसन्धान अधिकृतहरूको टोलीले गुप्तासँग सामाजिक सञ्जालमा सार्वजनिक भएको घुससम्बन्धी अडियोबारे बयान लिने र थप अनुसन्धान प्रक्रिया अघि बढाउने योजना बनाएको हो। सोमबार बयान लिने तय भए पनि प्रक्रिया मंगलबार सारिएको आयोग स्रोतले जनाएको छ।
अख्तियारले गुप्ताको आवाजको नमुना संकलन गरी सामाजिक सञ्जालमा भाइरल भएको अडियोसँग परीक्षण गर्ने तयारी गरेको छ। गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवासम्बन्धी विषयमा गुप्ता र विचौलिया भनिएका एक व्यक्तिबीचको अडियो बाहिरिएपछि उनले चौतर्फी दबाबका बीच राजीनामा दिएका थिए।














