स्वास्थ्य मन्त्रालयलाई मेयर साम्पाङको पत्र : प्लिज जग्गा फिर्ता गरिदिनुस् !

Image

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै उपमहानगरको स्वामित्वमा रहेको जग्गा फिर्ता गरिदिन माग गरेका छन्।

बुधबार पठाइएको पत्रमा धरान–५ स्थित छाताचोकको पुरानो अस्पताल रहेको ठाउँको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको र उपमहानगर आफैले अस्पताल बनाउने तयारी गरेको भन्दै मेयर साम्पाङले जग्गा फिर्ता मागेका हुन् ।

मन्त्रालयलाई पठाएको भनिएको पत्र सामाजिक सन्जालमार्फत सार्वजनिक गरेका मेयर साम्पाङले पत्रमा ‘अनौपचारिक भाषा’ प्रयोग गरेका छन्। उनले यसअघि पनि यही भाषाशैली प्रयोग गर्दै आएका थिए ।

उनले उपमहानगर आफैँले नगर अस्पताल बनाउने योजना अघि सारेको उल्लेख गर्दै सो जग्गा मन्त्रालयमार्फत प्रतिष्ठानलाई हस्तान्तरण गरिएको भन्दै फिर्ता मागेका हुन् ।

‘धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुन चाहिँ कुलंगारले दलालीमा भुलेर बिपी अस्पताललाई दिई पठाएछ थाहा भएन,’ मन्त्रालयलाई पठाएको पत्रमा उनले लेखेका छन्, ‘यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला ।’

स्वास्थ्य मन्त्रालयलाई सम्बोधन गरिएको पत्र उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय काठमाडौं, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई पनि यो पत्रको बोधार्थ दिइएको छ।