सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च, हाइड्रोपावर कम्पनीको वर्चस्व

Image

सेयर बजारमा ९ वटा कम्पनीको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेका छन्। वितरित हकप्रद तथा बोनस सेयर समायोजनपछि गणना गरिएको मूल्यमा यी कम्पनीले अहिलेसम्मकै उच्च दर कायम गरेका हुन्।

उच्च मूल्यमा पुगेका कम्पनीमध्ये ५ वटा हाइड्रोपावर समूहका छन्। कालिका पावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप र हालै मात्र सूचीकृत सान्भी इनर्जी उच्च मूल्यमा पुगेका हाइड्रोपावर कम्पनी हुन्।

बिहीबारको बजार बन्द हुँदा कालिका पावरको मूल्य प्रतिशेयर ६४८.२२ रुपैयाँ, राधि विद्युत्को ८७०.५४ रुपैयाँ, बुटवल पावरको १,०३३.२८ रुपैयाँ, ङादी ग्रुपको ४४६.०५ रुपैयाँ र सान्भी इनर्जीको ५७७.९० रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ।

हाइड्रोपावर बाहेक अन्य समूहका ४ कम्पनीको मूल्य पनि हालसम्मकै उच्च बनेका छन्। बीमा समूहको नेपाल पुनर्बीमा, हालै सूचीकृत ट्रेड टावर, विकास बैंक समूहको सांग्रिला डेभलपमेन्ट बैंक र लगानी समूहको सीईडीबी होल्डिङ्सले समेत नयाँ मूल्य स्तर कायम गरेका हुन्।

बिहीबारको बजार बन्द हुँदा नेपाल पुनर्बीमाको प्रतिशेयर मूल्य १,५९८.९६ रुपैयाँ, ट्रेड टावरको ६४८.२० रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ४९३ रुपैयाँ र सीईडीबी होल्डिङ्सको २,९३९.२१ रुपैयाँमा कारोबार भएको छ।

बजार विश्लेषकका अनुसार बोनस र हकप्रद समायोजनपछि पनि मूल्य उच्च रहनु कम्पनीको वित्तीय प्रदर्शन र लगानीकर्ताको विश्वासको सूचक हो। हाइड्रोपावर र बीमा समूहमा देखिएको वृद्धि पछिल्ला केही महिनादेखि सेयर बजारमा देखिएको आकर्षणसँग पनि जोडिएको बताइन्छ।