यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन

Image

यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा एक अर्ब ६ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा १२ करोड ९५ लाख ३३ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो । 

आव २०८१/८२ मा १३ हजार ९७० सवारीसाधन दर्ता हुँदा १९ हजार ७७८ जनाले सवारी चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका उनले बताए  । 

यसैगरी, कार्यालयले एक वर्षमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरेको छ । आव २०८१/८२ मा  सबैभन्दा धेरै चार हजार ९६२ मोटरसाइकल दर्ता हुँदा तीन हजार ४१० स्कुटर दर्ता भएका सूचना अधिकारी ओलीले जानकारी दिए । 

सो अवधिमा दुई हजार ६८८ ई–रिक्सा, ७६७ ई–स्कुटर, २४९ ट्याक्टर, २४६ जिप, २५८ कार, १६५ बस, १४६ भ्यान, ३९ टिपर, ७७ ट्रक र २३ मिनी बस दर्ता भएका थिए ।