सप्तरी प्रहरीले हवाई फायर गर्दै लागुऔषध कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ।
डाक्नेश्वरी नगरपालिका–७ मा आज बिहान लागू औषध नियन्त्रण ब्युरो र स्थानीय प्रहरीको संयुक्त अपरेशनमा दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बडिवीरपुर गाउँपालिका–१ का विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन्।
प्रहरीले पक्राउ गर्ने क्रममा दुई राउन्ड हवाई फायरसमेत गर्नु परेको जनाएको छ। राय दाजुभाइ लागू औषध ओसारपसार गरिरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई निगरानीमा लिइएको र प्रतिरोध भएपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद गरिएको छ। आवश्यक अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा लिइएको छ।
प्रहरीले लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्तिको खोजी कार्य पनि तीव्र पारेको जनाएको छ।














