बैंक तथा वित्तीय संस्था बन्द गर्ने परिसंघको चेतावनी

बैंक तथा वित्तीय संस्थाहरुले आक्रमण र दुर्व्यवहारका घटना नरोकिएमा सेवा प्रवाह नै बन्द हुन सक्ने चेतावनी दिएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफन)ले एक विज्ञप्ति निकालेर कार्यालयका शाखा तथा कर्मचारीमाथि विभिन्न व्यक्ति, संस्था तथा समूहबाट निरन्तर रुपमा भौतिक आक्रमण एवम् गैरकानूनी गतिविधि भइरहेको भन्दै सेवा नै बन्द गर्ने अवस्था आउन सक्ने चेतावनी दिएको हो ।

बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन परिसंघले प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित सबै समक्ष जोडदार माग गरेको छ ।

‘यदि निर्वाध रुपमा सुरक्षित वातावरणमा बैंक तथा वितीय संस्थाले बहन गर्नुपर्ने कर्तव्य तथा जिम्मेवारी पूरा गर्न सहज हुने वातावरणको सुनिश्चितता नेपाल सरकार र सो अन्तर्गतका निकायबाट हुन नसक्ने हो भने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाले आफनो सेवा पूर्णरुपमा बन्दै गर्नुपर्ने परिस्थिति सृजना हुन सक्नेतर्फ सचेत गराउँदछौं,’ परिसंघको विज्ञप्तिमा भनिएको छ, ‘सोबाट आम निक्षेपकर्ता, ऋणीलगायत सम्पूर्ण सरोकारवालाहरुको हक, हित संरक्षण तथा सम्वर्द्धनमा गम्भीर संकट उत्पन्न हुने र समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट सिर्जना हुने भएकाले नेपाल सरकारलगायत सबैको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

कुनै पनि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाको साख, गरिमा, विश्वसनीयता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउने, बैकिङ व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सृजना गर्ने, बैंक वित्तीय संस्थाहरूबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने र बैंक तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई भौतिक आक्रमण गर्ने, मानमर्दन गर्ने, वा आफ्नो कर्तव्य पालना गर्न असुरक्षित एवम् असमर्थ बनाउने लगायत प्रचलित कानुनबाट वर्जित क्रियाकलापहरू देशका विभिन्न स्थानहरूमा निरन्तर रूपमा भइरहेको संघको भनाई छ ।