प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

आर्थिक विधेयक, २०८० प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि परेका संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।

विधेयकमाथि सांसदहरू प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गरेका थिए । त्यसअघि विधेयकमाथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सरकारले स्वदेशी उत्पादनकर्ताहरूलाई प्रोत्साहन गर्ने गरि बजेट ल्याएको बताए ।

किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएकाले नै सरकारले साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने व्यवस्था गरिएको उनले बताएका छन् ।

अर्थमन्त्री महतले सुर्तीजन्य पदार्थमा सरकारले आवश्यक कर थप गरेको जानकारी दिए । उनले विपत् अथवा भइपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि केही बजेट राख्ने गरिएको बताए ।

त्यस्तै विधेयकको छलफलका क्रममा सांसदहरूले विद्युतीय धूम्रपानका वस्तुमा भन्सार शुल्क नलगाएको तर विद्यार्थीहरूले प्रयोग गर्ने वस्तुहरूमा कर लगाइएको बताएका थिए । उनीहरुले स्वदेशी उद्योग र उत्पादनका लागि  कच्चापदार्थ आयातमा सहज हुने गरी भन्सार शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिएका थिए ।