पढ्दै कमाउँदै कार्यक्रम : लगानी विद्यालय र स्थानीय सरकारको, मुनाफा विद्यार्थीलाई

तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् ।  विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका छन् ।

उनी बिहान ६:३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त हुन्छन्। त्यसपछिको समयमा  फार्ममा काम गर्छन् ।  विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ। फार्ममा ब्रोइलर कुखुरा पाडा, बाख्रा पालिएको छ ।

शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न थापाजस्तै १७ विद्यार्थी फार्ममा पुग्छन् । विद्यार्थी पशुलाई दाना पानीको व्यवस्थापनमा आफैं खटिन्छन् ।  पछिल्लो समय विद्यार्थीको दैनिकी प्रयोगात्मक सिकाइ र अभ्यासमा बित्दै आएको छ ।

पाठ्यक्रममा आधारित पशुपालन र उपचार पद्धतिबारे अध्ययनरत विद्यार्थीले नजिकका टोलमा गई किसानले पालेका पशुचौपायाको औषधि उपचार पनि गर्छन् । उपचार पद्धति र प्रक्रियाबारे निपूर्ण हुनका लागि किसानका पशु चौपायाको उपचार गर्दा आत्मविश्वास बढ्ने उनी बताउँछन्।

प्राविधिक धारअन्तर्गत पर्ने १८ महिने (भेटेरिनरी जेटिए) पढ्ने विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रममार्फत आयआर्जन गर्न थालेका छन् ।

फार्ममा पालिएका कुखुरापालनमा विद्यालयले लगानी गरेपनि मुनाफा भने विद्यार्थीले पाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले जानकारी दिए  ।

‘पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ। समूहमा विभाजित विद्यार्थीले अहिले अध्ययन मात्र नभई एक सिजनमा मात्र प्रति विद्यार्थी पाँच हजारदेखि सात हजारसम्म कमाउने गरेका छन्,’ उनले भने ।

पढ्दै कमाउँदै कार्यक्रमबाट भएको आम्दानीले विद्यार्थीलाई अध्ययनमा टेवा मिलेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरेका छन। प्रयोगात्मक शिक्षा अन्तर्गत विद्यालयका विद्यार्थीले स्थानीय जातको कुखुरापालन सुरु गरेका हुन् ।

प्रधानाध्यापक सूर्यमानसिंह गुरूङका अनुसार विद्यालयको एउटा कोठामा दुई सय स्थानीय प्रजातिका कुखुरा पालिएको छ। गाउँपालिकाको एक वडा एक उत्पादन र पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरिएको हो ।

कुखुरालाई दानापानी गर्न विद्यार्थी नै खटिन्छन्।  ‘यसले आत्मनिर्भर बन्न पनि सिकाएको छ,’ प्रधानाध्यापक सिंहले भने ।

आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रममार्फत अदुवाखेती गरिएको छ। विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत दुई रोपनी जग्गामा एक सय ७५ किलो अदुवा र एक सय ६५ किलो हलेदो रोपिएको छ ।

विद्यार्थी आफैँले बारी खनेर अदुवा र हलेदो रोपेको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए। यो कार्यक्रमले विद्यार्थीलाई सीपयुक्त बनाउन सहयोग पुग्ने ढकालको भनाइ छ ।

‘पढाइका अतिरिक्त विद्यार्थीलाई अतिरिक्त ज्ञान पनि आवश्यक पर्दछ, त्यसमाथि सीपमूलक ज्ञान त झन प्रभावकारी हुन्छ’। विद्यार्थी पनि यो कार्यक्रममा उत्साहित छन्,’ उनले भने ।

विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

‘विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ,’ चुमानले भने, ‘सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौँ ।’

गाउँपालिकाले विद्यालयको जग्गाको उपलब्धता, विद्यालयको माग र आवश्यकताका आधारमा अन्य पालिकामा पनि यो कार्यक्रम विस्तार गर्ने जनाएको छ ।