बर्दियामा आन्दोलनकारी र प्रहरीबीच झडप, स्थिति नियन्त्रणमा लिन ९ राउन्ड हवाई फायर

Image

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा करिब एक दर्जन प्रहरी घाइते भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी प्रमेश बिष्टका अनुसार केही दिनअघि दुई युवकको ज्यान गएपछि स्थानीयले विरोध प्रदर्शन गरेका थिए।

सुरेश खटिक र बहुरोन खटिकलाई सुतिरहेको अवस्थामा बेहोस भएको भन्दै अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुगेपछि उनीहरूको मृत्यु भइसकेको पुष्टि भएको थियो।

स्थानीयले लागुऔषधका कारण उनीहरूको मृत्यु भएको र भारतीय सीमा नाकाबाट खुलेआम लागुऔषध तस्करी भइरहेको आरोप लगाउँदै बाटो अवरुद्ध गरी प्रदर्शन गरेका थिए।

प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गर्दा आन्दोलनकारीसँग झडप भएको हो। झडपका क्रममा प्रहरीमाथि आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको डीएसपी बिष्टले जानकारी दिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फायरसमेत गरेको जनाएको छ। अहिले क्षेत्रको अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।