देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान, बूढानीलकण्ठस्थित घर भत्काउने काम प्रहरीले रोक्यो

Image

सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गर्ने काम तीव्र पारिएको स्रोतले जनाएको छ।

अनुसन्धानका क्रममा प्रमाण नष्ट हुनसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने काम प्रहरीले रोक लगाएको बताइएको छ। प्रहरीले अनुसन्धानमा असर पर्नसक्ने सम्भावना देखेपछि उक्त गतिविधि तत्कालका लागि रोकेको स्रोतको भनाइ छ।

सत्ताको आडमा अस्वाभाविक र गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। विभागले पहिले नै संकलन भएका सूचना र प्रमाणका आधारमा अनुसन्धानलाई थप अघि बढाएको जनाइएको छ।

गृह मन्त्रालय तथा नेपाल प्रहरीसँग सम्बद्ध स्रोतका अनुसार, पछिल्लो एक–डेढ वर्षको अवधिमा जयवीर देउवा र उनका नजिकका नातेदारका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको छ।

यस्तै, देउवा परिवारसँग सम्बन्धित आर्थिक कारोबारको पाटो पनि अनुसन्धानको दायरामा परेको छ। शेरबहादुर देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भुषण राणा लगायत व्यक्तिबाट जयवीर देउवा तथा अन्य व्यक्तिको खातामा भएको आर्थिक कारोबारको विवरण संकलन भइरहेको स्रोतले जनाएको छ।

अनुसन्धान अधिकारीहरूले सम्पत्ति आर्जनको स्रोत, कारोबारको प्रकृति र सम्बन्धित व्यक्तिहरूको वित्तीय गतिविधि समेत अध्ययन गरिरहेको बताइएको छ