रवि लामिछाने विरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत मा पेसी तोकिएको छ। न्यायाधीशद्धय कुमार रेग्मी र मेघराज पोखरेल को संयुक्त इजलासमा सुनुवाइ हुनेछ।
यो मुद्दा दुई वर्षअघि युवराज पौडेल ले दायर गरेको रिटबाट सुरु भएको हो। पौडेलले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको दाबी गरेका थिए।
यसअघि सर्वोच्च अदालतले यो मुद्दामा तीन पटक फाइल माग गर्ने आदेश जारी गरिसकेको छ। २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरिएको थियो भने २०८० जेठ ९ गते फाइल माग्ने आदेश दिएको थियो। अदालतले राहदानी विवादमा महान्यायाधिवक्ता कार्यालयको “मुद्दा नचलाउने” निर्णयको कारण माग गरेको थियो।
पूर्वमहान्यायाधिवक्ता दिनमणि पोखरेल ले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए। पौडेलले यस निर्णयविरुद्ध रिट दायर गरेका थिए र अन्तरिम आदेशको माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
पौडेलको दाबी अनुसार, लामिछाने अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिकको रूपमा राहदानी प्राप्त गर्नु, राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य हो। महान्यायाधिवक्ताले आपराधिक मनसाय नभएको भन्दै आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले बताएका छन्।
पौडेलले माग गरेका छन् कि लामिछानेले राहदानी कुन समयमा, कुन प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अधिकार विभाग बाट प्राप्त गर्नुपर्नेछ। साथै, दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिने सम्बन्धमा निर्वाचन आयोग लगायत विपक्षीहरूलाई अन्तरिम आदेश जारी गर्न रिटमा उल्लेख गरिएको छ।














