इरानसँग तनाव भइरहेका बेल अमेरिकाको नौसेना प्रमुख जोन फालनले राजीनामा दिने भएका छन्। पेन्टागनका प्रवक्ता सिन पर्नेलले सामाजिक सञ्जालमार्फत अब नौसेनाका उपसचिव हङ काओ कार्यवाहक सचिव हुने जानकारी दिएका छन्।
हालैका महिनामा राजीनामा दिएका वरिष्ठ सैन्य अधिकारीको सूचीमा फालन पनि थपिएका छन्। केही हप्ताअघि मात्र अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्यान्डी जर्जलाई राजीनामा दिन निर्देशन दिएका थिए। यसअघि दुई सैन्य अधिकारीहरू जनरल डेभिड होडने र मेजर जनरल विलियम ग्रिनलाई पनि हालै पदबाट हटाइएको थियो।
पेन्टागन प्रवेश गरेयता हेगसेथले नौसेना अपरेसन प्रमुख र वायुसेना उपप्रमुखसहित दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई हटाइसकेका छन्। पहिले कहिल्यै सेनामा सेवा नगरेका फालन मार्च २०२५ मा नौसेना प्रमुख बनेका थिए। उनलाई २०२४ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यो पदमा नियुक्त गरेका थिए।
उनका उत्तराधिकारी काओ अक्टोबर २०२५ मा उपसचिव बनेका थिए भने उनी २५ वर्षदेखि नौसेनामा सेवारत छन्। पाकिस्तानमा इरानसँग दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको चर्चाबिच अमेरिकाका नौसेना प्रमुखले राजीनामा दिने भएका हुन्।















