बागमती प्रदेशको १० महिनामा ३१ अर्बभन्दा बढी राजस्व संकलन

Image

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो १० महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश सरकारको प्रमुख राजस्व स्रोतका रूपमा रहेको छ । ती शीर्षकसहित बाँडफाँटमार्फत साउनदेखि वैशाखसम्मको अवधिमा २० अर्ब १ करोड ३ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्याल ले जानकारी दिएका छन् ।

त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत सोही अवधिमा ७ अर्ब ९४ करोड २७ लाख ५६ हजार रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको आन्तरिक स्रोतबाट भने ३ अर्ब २४ करोड ५२ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ ।

अधिकृत सञ्ज्यालका अनुसार आर्थिक तरलता, घरजग्गा तथा नयाँ सवारीसाधन खरिद–बिक्रीमा आएको गिरावट र गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा राजस्व संकलन गर्ने निकायमा पुगेको क्षतिका कारण अपेक्षाअनुसार राजस्व उठ्न नसकेको हो ।