अमेरिकी पूर्वराष्ट्रपति बाइडेनद्वारा न्याय विभागविरुद्ध मुद्दा दायर

Image

अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले आफ्ना जीवनी लेखक (बायोग्राफर) सँग भएका निजी कुराकानीका अडियो रेकर्डिङ र लिखित सामग्रीहरू सार्वजनिक हुनबाट रोक्न अमेरिकी न्याय विभागविरुद्ध मुद्दा दायर गरेका छन् ।

यो मुद्दा पूर्वराष्ट्रपति बाइडेनले गोप्य सरकारी कागजात सुरक्षित राख्न नसकेको विषयमा विशेष अनुसन्धानकर्ता रोबर्ट हुरले गरेको छानबिनसँग सम्बन्धित छ । सन् २०१६ र २०१७ मा गरिएका यी कुराकानीका रेकर्डिङलाई सो अनुसन्धानको मुख्य प्रमाण मानिएको छ ।

विशेष अनुसन्धानकर्ता हुरले बाइडेनले आफ्ना लेखक मार्क ज्वोनित्जरलाई गोप्य डायरीका अंश पढेर सुनाएको निष्कर्ष निकालेका थिए । यद्यपि बाइडेनले आफूले कुनै पनि गोप्य जानकारी साझा नगरेको दाबी गर्दै आएका छन् । यसअघि अनुसन्धानका क्रममा बाइडेनले कतिपय कुराहरू बिर्सिएको प्रसङ्गलाई लिएर हुरले उनीमाथि जानाजानी गल्ती गरेको प्रमाणित गर्न गाह्रो हुने टिप्पणी गरेका थिए ।

अमेरिकी न्याय विभागले आगामी जुन १५ भित्र ती रेकर्डिङका परिमार्जित अंश अमेरिकी संसद् र ‘हेरिटेज फाउन्डेसन’ लाई उपलब्ध गराउने तयारी गरेपछि बाइडेनले यो कानुनी कदम चालेका हुन् । हेरिटेज फाउन्डेसनले सूचनाको हक सम्बन्धी कानुनअन्तर्गत ती सामग्री माग गर्दै अदालतमा निवेदन दिएको थियो ।

यस कानुनी विवादका बारेमा पूर्वराष्ट्रपति बाइडेनका प्रतिनिधि र न्याय विभागले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।