अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती मस्यौदा

Image

इरानको सरकारी सञ्चारमाध्यमले इरानले ‘अमेरिकासँग सम्झौताका लागि सुरुवाती र अनौपचारिक मस्यौदा’ प्राप्त गरेको दाबी गरेको छ।

बीबीसी फारसीले रिपोर्ट उद्धृत गर्दै भनेको छ, ‘प्रस्तावअनुसार इरानले एक महिनाभित्र हर्मुज स्ट्रेटमा व्यावसायिक जहाजको आवागमनलाई युद्धअघिकै स्थितमा फर्काउनेछ। बदलामा अमेरिकाले इरानवरिपरि तैनाथ आफ्ना सैन्य बल फिर्ता गर्नेछ र नौसेना नाकाबन्दी हटाउनेछ।’

रिपोर्टमा जहाज मार्ग व्यवस्थापनका सम्बन्धमा इरान र ओमानबिच समन्वय स्थापित गरिने पनि भनिएको छ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा विदेश नीति र अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका उपनिर्देशक अली बघेरी कानीले पनि इरान र ओमान संयुक्त रूपमा हर्मुज स्ट्रेटबाट जहाज आउजाउका विषयमा नयाँ प्रक्रियाका विषयमा वार्ता गरिरहको पुष्टि गरेका छन्।

उनका अनुसार, ‘युद्ध सुरु हुनुअघिको तुलनामा हर्मुज आउजाउ गर्ने सर्त र प्रक्रिया पूर्ण रूपमा फरक हुनेछन्।’ कानीले यसो पनि भनेका छन्, ‘सबै मुद्दामा सहमति नभएसम्म हामी के ठान्छौँ भने कुनै पनि मुद्दामा सहमति भएको छैन।’