युक्रेनमा जारी युद्धको असर नेटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ। युक्रेनमाथि रातभर भएको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन्।घटनापछि रोमानियाले नेटोसँग थप एन्टी–ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।
रोमानियाको रक्षा मन्त्रालयका अनुसार ड्रोनलाई देशको हवाई क्षेत्रमा राडारमार्फत निगरानी गरिएको थियो। त्यसपछि उक्त ड्रोन पूर्वी सहर गलाटीस्थित एउटा अपार्टमेन्ट भवनको छतमाथि खस्दा आगलागी भएको थियो। घटनामा दुई जनालाई सामान्य चोट लागेको छ भने भवनका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
डेन्यूब नदी किनारमा रहेको गलाटी सहर मोल्दोभा र युक्रेन सीमाको नजिक पर्छ। घटनापछि प्रहरी, आपतकालीन सेवा र अन्य निकाय तत्काल परिचालित भएका थिए। रोमानियाली सेनाले दुई वटा एफ–१६ लडाकू विमान र एउटा हेलिकप्टर परिचालन गरेको थियो भने स्थानीय बासिन्दालाई सतर्कता सन्देश पठाइएको थियो।घटनालाई रोमानियाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भनेको छ। मन्त्रालयले नेटोसँग गठबन्धनको हवाई सुरक्षालाई मजबुत बनाउन तथा एन्टी–ड्रोन प्रणालीको तीव्र आपूर्तिको माग गरेको छ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले घटनाले “रुसको युद्धले अर्को सीमा पार गरेको” देखाएको टिप्पणी गरेकी छन्। उनले युरोपेली संघले पूर्वी सीमाको सुरक्षा थप सुदृढ बनाउने र रुसविरुद्ध नयाँ प्रतिबन्ध प्याकेजको तयारी गरिरहेको जानकारी दिएकी छन्।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन अमेरिकामाथि दबाब बढाइरहेको बताएका छन्।स्विडेन भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण अमेरिकी हतियार भण्डार अन्यत्र मोडिँदा युक्रेनका लागि आवश्यक आपूर्ति खतरनाक रूपमा घट्दै गएको चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि युद्धको तीव्रता नियन्त्रणबाहिर जाने जोखिम रहेको भन्दै सुरक्षा परिषदलाई सचेत गराएका छन्। उनका अनुसार यस वर्षको पहिलो चार महिनामा विगत तीन वर्षको सोही अवधिको तुलनामा बढी सर्वसाधारणको ज्यान गएको छ।उनले तत्काल तनाव घटाउने, कूटनीतिक प्रयास बढाउने तथा पूर्ण र बिना शर्त युद्धविराम लागू गर्न आह्वान गरेका छन्।















