प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

Image

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद भवन, सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ।आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री वाग्लेले गत शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए। सोही बजेटमाथि आजदेखि प्रतिनिधिसभामा औपचारिक छलफल सुरु हुन लागेको हो।संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले बजेटसम्बन्धी वक्तव्यसहित प्रस्ताव पेश गर्नेछन्। त्यसपछि सांसदहरूले बजेटका विभिन्न पक्ष, प्राथमिकता, कार्यक्रम तथा स्रोत व्यवस्थापनबारे धारणा राख्नेछन्।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटको प्रभावकारिता, कार्यान्वयन क्षमता, विकास खर्च, सामाजिक सुरक्षा, रोजगारी, कृषि, पूर्वाधार तथा निजी क्षेत्रसँग सम्बन्धित विषयहरूमा संसदमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।बजेटमाथिको सामान्य छलफल सम्पन्न भएपछि मन्त्रालयगत शीर्षकहरूमाथि विस्तृत छलफल तथा विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।