प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।सोमबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जारी राखेपछि बैठक स्थगित गरिएको हो।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आफ्नो आसनबाट उठेर विरोधमा उत्रिएका थिए। त्यसक्रममा सभामुख डोलप्रसाद अर्यालले संसद् कानून निर्माण गर्ने सर्वोच्च थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका थिए।विपक्षी दलहरूको निरन्तर अवरोधपछि सभामुख अर्यालले सोमबारका लागि तय गरिएका सबै कार्यसूची हटाइएको घोषणा गरे। साथै उनले संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरिएको जानकारी पनि गराए।
सदनको अवरोध तत्काल हट्ने अवस्था नदेखिएपछि सभामुख अर्यालले प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्।प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले अभिलेखबाट हटाउन र माफी माग्नुपर्ने माग गर्दै लगातार संसद् अवरोध गरिरहेका छन्। त्यसकै प्रभावस्वरूप प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।















