प्रतिनिधिसभाको बैठकअघि विपक्षी दलहरूले आज संयुक्त रणनीतिक बैठक बस्ने भएका छन्। बैठक मध्याह्न १२ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।
आइतबार राति सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूको बेल घेराउ र विरोधका बीच प्रतिनिधिसभा नियमावली पारित गरेपछि अब संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा साझा धारणा बनाउन विपक्षी दलहरू छलफलमा जुट्न लागेका हुन्।बैठकमा संसद्को आगामी रणनीति, सदनमा अपनाइने भूमिका तथा सरकारप्रति अपनाइने धारणाबारे छलफल हुने जनाइएको छ।
यसैबीच प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को आय–व्यय विवरण (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।















