भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन सुरु भएको छ ।पार्टीले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेको छ।
मन्त्रीको राजीनामाको माग मात्र नभई पार्टीले सम्भावित उत्तराधिकारीका रूपमा चर्चित शिक्षक खान सर वा शिक्षाविद् तथा नवप्रवर्तक सोनम वांगचुकलाई शिक्षा मन्त्रालयको नेतृत्व दिनुपर्ने प्रस्ताव अघि सारेको छ। युवाहरूको नेतृत्वमा रहेको सिजेपीले वर्तमान नेतृत्वका कारण राष्ट्रिय परीक्षा प्रणालीमा ‘प्रणालीगत विफलता’ देखिएको दाबी गर्दै शैक्षिक निष्ठा र नवप्रवर्तनप्रति प्रतिबद्ध व्यक्तिले मात्र जनविश्वास पुनःस्थापित गर्न सक्ने जनाएको छ।
कक्रोच जनता पार्टी का प्रवक्ताहरूले मन्त्रालयले हालै केही अधिकारीहरूको जिम्मेवारी हेरफेर गरे पनि त्यसले समस्या समाधान नगर्ने बताएका छन्। उनीहरूका अनुसार लाखौँ विद्यार्थीले जवाफदेहिता मागिरहेका बेला नेतृत्व तहमा व्यापक परिवर्तन आवश्यक छ।
पार्टीले खान सर वा सोनम वाङ्चुकलाई सम्भावित शिक्षामन्त्रीका रूपमा अघि सार्नुको कारण उनीहरूको विद्यार्थी समुदायसँगको प्रत्यक्ष सम्बन्ध तथा शैक्षिक सुधारमा देखिएको योगदान रहेको जनाएको छ। सिजेपीका समर्थकहरूका अनुसार खान सरको विद्यार्थीमाझ रहेको प्रभाव र वाङ्चुकको शैक्षिक सुधार तथा नवप्रवर्तनसम्बन्धी अनुभवले शिक्षा मन्त्रालयमा आवश्यक पारदर्शिता र विश्वास स्थापित गर्न मद्दत पुग्नेछ।
यसबीच केन्द्र सरकारले आन्दोलनप्रति औपचारिक प्रतिक्रिया नदिए पनि परीक्षा प्रणालीको विश्वसनीयता र शैक्षिक सुधारको विषय राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। सरकारनिकट पक्षले आन्दोलनलाई राजनीतिक प्रेरित अभियानको संज्ञा दिँदै आएको छ भने सिजेपीले दीर्घकालीन सुधारको स्पष्ट कार्ययोजना र जिम्मेवारी स्वीकार नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ।
जन्तर–मन्तरमा हजारौँ प्रदर्शनकारी सहभागी छन। निट-यूजी पेपर लिक र सीबीएसई, सीयूईटी, एसएससी-जीडीजस्ता परीक्षामा भएका अनियमितताविरुद्ध आज दिल्लीको जन्तरमन्तरमा प्रदर्शन भइरहेको हो ।
सीजेपीले विरोध प्रदर्शनमा भाग लिने समर्थकहरूका लागि निर्देशन पनि जारी गरेको छ। जसमा समर्थकहरूलाई सनस्क्रिन लगाउन, ब्रेकफास्ट गर्न र तिरंगा झन्डँ, फूल र पुस्तक ल्याउन भनिएको छ। ककरोच पार्टीको सुरुवात सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियानबाट भएको हो।















