फिलिपिन्समा शक्तिशाली भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालले गर्‍यो दुःख व्यक्त

Image

नेपाल सरकारले दक्षिण फिलिपिन्समा गएको शक्तिशाली भूकम्प र त्यसबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै भूकम्पका कारण ज्यान गुमाउनेहरूका परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको हो।

नेपाल सरकारले यस प्राकृतिक विपत्तिको घडीमा फिलिपिन्स सरकार र त्यहाँका नागरिकप्रति आफ्नो सहानुभूति प्रकट गरेको छ। भूकम्पका कारण अझै पनि धेरै मानिसहरू बेपत्ता भइरहेको घटनाप्रति चासो राख्दै नेपालले बेपत्ता भएकाहरूको छिटो भन्दा छिटो उद्धार होस् भनी कामना गरेको छ। साथै प्राकृतिक प्रकोपमा परी घाइते भएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ।

परराष्ट्र मन्त्रालयले यस कठिन र चुनौतीपूर्ण समयमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनता फिलिपिन्स सरकार तथा त्यहाँका जनताको साथमा रहेको उल्लेख गरेको छ। नेपालले फिलिपिन्ससँग सधैँ ऐक्यबद्धता रहने प्रतिबद्धता समेत जनाएको छ।