राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश

Image

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् ।

सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी भएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार, विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिसका लागि पठाइएको थियो । यी दुई अध्यादेश भने अध्ययनकै क्रममा रहेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । भोटेकोशी बाढीलाई मध्यनजर गर्दै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागिएको छ ।

हाल १२ वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था छ । यसलाई छोट्याएर विपद्को सन्दर्भमा ४५ दिनमै मृतक घोषणा गर्न सकिने विषय अधयादेशमा आएको छ ।

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय समावेश छ । राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छ ।