तातोपानी-झाङ्मु र लिजी-कोराला नाका खोल्न चीनसँग आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल-चीनबीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको बताए।
‘नेपाल-चीनबीचको आवागमन र व्यापारलाई सहज बनाउने दिशामा मन्त्रालयबाट तातोपानी-झाङमु र लिजी-कोराला लगायतका नाकाहरू खुलाउने विषयमा हाल आवश्यक समन्वय भइरहेको छ,’ क्षेत्रीले भने, ‘रसुवागढी नाका बन्द हुँदा चीनसँगको व्यापार बन्द नहोस् भन्ने उद्देश्यले परराष्ट्र मन्त्रालयले आवश्यक पहल गरिरहेको छ।’
गत भदौ १० मा भोटेकोसी बाढीपछि रसुवागढी नाका बन्द भएको छ। नाका बन्द हुँदा नेपाल-चीनबीचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको छ।
प्रवक्ता क्षेत्रीले सरकारले विदेशमा रहेका नेपालको ऐतिहासिक तथा पुरातात्विक सम्पदा र दस्तावेज स्वदेश फिर्ता ल्याउने तथा संरक्षण र प्रवर्द्धन गर्ने कामलाई पनि अघि बढाएको बताए।















