काठमाडौं महानगरमा विपन्न तथा असहायलाई नि:शुल्क उपचार

Image

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आयुर्वेद, योग, ध्यान, मानसिक स्वास्थ्य सेवा तथा आकस्मिक उपचार सुविधासहितका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ।महानगरले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आरोग्य जीवनशैली प्रवर्द्धनका लागि आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य सुधारका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

हाल सञ्चालनमा रहेको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रका साँघुरा सडक र बढ्दो सवारी चापलाई ध्यानमा राखेर ‘बाइक एम्बुलेन्स’ सेवा सुरु गरिने भएको छ। यसले आकस्मिक बिरामीलाई छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।महानगरवासीका लागि मिर्गौला रोगको उपचार सहज बनाउन डायलासिस सेवा सहजीकरण गरिनेछ भने मातृशिशु तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। सार्वजनिक स्थानमा स्तनपान गराउने आमा र शिशुको सुविधाका लागि ‘स्तनपान तथा हेरचाह ब्लक’ स्थापना र व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

महानगर क्षेत्रभित्र सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको नियमित नियमन र अनुगमन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्रोत्साहन गरिनेछ। साथै विपन्न तथा असहाय नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार उपलब्ध गराउने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने महानगरले जनाएको छ।स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारका लागि महानगर अस्पताल निर्माण गर्ने योजना पनि सार्वजनिक गरिएको छ। पछिल्लो समय बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न मनोपरामर्श सेवा तथा कल सेन्टर सञ्चालनमा ल्याइने भएको छ।

त्यसैगरी ज्येष्ठ नागरिकका लागि निमोनिया विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने, महानगरवासीको नियमित स्वास्थ्य परीक्षण गरिने तथा विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गरेर स्वास्थ्य शिविर र आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गरिने विषयलाई समेत महानगरले प्राथमिकतामा राखेको छ।महानगरको नयाँ स्वास्थ्य नीति रोकथाममुखी, पहुँचयुक्त र समावेशी स्वास्थ्य सेवा प्रणाली निर्माणतर्फ केन्द्रित रहेको देखिएको छ।