नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज (मंगलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको हो।
पौडेलकी श्रीमती दोमाया पौडेलले श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै गत असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।उक्त निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको थियो। साथै, असार १६ गतेका लागि पूर्ण सुनुवाइको मिति तोकेको थियो।उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको आरोपमा गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि असार ९ गते उनलाई विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।
यसैबीच, विशेष अदालतले सोमबार अनुसन्धानका लागि आवश्यक रहेको भन्दै पौडेललाई थप तीन दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।अब सर्वोच्च अदालतको आजको सुनुवाइले उनको पक्राउ र हिरासतको वैधानिकताबारे महत्वपूर्ण कानुनी निर्णय दिने अपेक्षा गरिएको छ।













