जीवन चलाउनेको बयान : ‘सीआईबीका डीएसपी र एसपीले ६० लाख मागे’

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गाराज दाहालले एक रेष्टुरेन्टमा भेटेर पैसा मागेको बताएका हुन् ।  ३० लाख रुपैयाँमा डिल भएको र पैसा जुटाउन भन्दै आफू केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतबाट मुक्त भएको बयान उनले आयोगलाई दिएका छन् । तर, पैसा नपाएपछि प्रतिवादी बनाइएको उनले दाबी गरेका छन् ।

सुन तस्करीसम्बन्धी छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगलाई चलाउनेले विदेशबाट ह्वाट्स एपमा बयान दिएका थिए । उक्त बयानको अडियो रेकर्ड र च्याटमा भएको कुराकानीलाई आयोगले प्रमाणको रुपमा लिएर पेन ड्राइभमा हालेर बुझाएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएको आरोप लागेपछि फरार चलाउनेले आत्मसमर्पण गर्ने बताएका छन् । चलाउनेले आफू अहिले दिल्लीमा रहेको र चाँडै अदालतसमक्ष आत्मसमर्पण गर्ने बताएका हुन् ।

६१ किलोग्राम सुन तस्करी प्रकरणमा सीआईबीले दावा छिरिङसँग सम्बन्ध देखिएका करीब १०० जनासँग सोधपुछ गरेको थियो। यही सूचीमा जीवन चलाउने पनि थिए । सोधपुछका क्रममा जीवनको मोबाइल फोनको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा परीक्षण पनि भयो। तर, केही भेटिएन। बोलाएको वेला उपस्थित हुने शर्त सहितको कागज गराएर सीआईबीले छोडिदियो।

केही दिनपछि दावा छिरिङसँग जीवनको सुन कारोबार सम्बन्धी कुराकानी भएको संवाद भेटियो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार जीवनले ‘आफूसँग सुनको कारोबार गर्न एक जना भारतीय पार्टनर रहेको र मासिक ५०–६० किलोग्राम सुन खपत गर्न सकिने’ आशयको सन्देश पठाएका थिए। दावासँग कुराकानी भएको भेटिएपछि प्रहरी पहिल्यैदेखि चलाइरहेको फोन लिएर आउन भनेर खबर पठाएको थियो । त्यसपछि उनी फरार भएका थिए ।

बर्दियाका जीवन २०७० सालअघिसम्म प्रहरीलाई गुन्डागर्दी सम्बन्धी सुराक दिने गर्थे। पछिल्लो समय भने उनी चामलको कारोबारमा लागेका थिए जुन देखाउने व्यवसाय मात्र रहेको प्रहरीको भनाइ छ। जीमी ग्रूपमा समेत उनी आबद्ध छन्। यो ग्रूपको उनी प्रबन्ध निर्देशक हुन्। यो ग्रूपले भारतको जीमी ब्रान्डको चामल आयात गर्छ। पछिल्लो सुन तस्करी प्रकरणमा प्रतिवादी समेत रहेका उनलाई फरार सूचीमा राखिएको छ।