अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य राष्ट्रहरूप्रति पुनः असन्तुष्टि व्यक्त गरेका छन्। टर्कीको अङ्कारामा राष्ट्रपति रेचेप तैयप एर्दोआनसँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफू नाटोका धेरै सदस्य राष्ट्रको व्यवहारबाट “धेरै निराश” भएको बताएका हुन्।
ट्रम्पले टर्कीमा नाटो शिखर सम्मेलन आयोजना भएकै कारण आफू सहभागी भएको उल्लेख गर्दै भने, “यदि यो सम्मेलन मेरो मित्र तथा बलियो नेता रेचेप तैयप एर्दोआनको देश टर्कीमा नभएको भए, सम्भवतः म उपस्थित हुने थिइनँ।”
उनले इरानसँगको द्वन्द्वका क्रममा नाटो सदस्य राष्ट्रहरूले अमेरिका साथ नदिएको भन्दै आलोचना गरे। ट्रम्पले भने, “हामीसँग राम्रो व्यवहार भएन। उनीहरूले साथ नदिने बताए। मैले उनीहरूको सहयोग नै चाहेको पनि थिइनँ। हामीले युरोपेली देशहरू र अन्य सहयोगीहरूको सुरक्षाका लागि नाटोमा खरबौँ डलर लगानी गरेका छौँ।”
बेलायतका निवर्तमान प्रधानमन्त्री किर स्टार्मरले ढिलोगरी अमेरिकी सेनालाई इरानविरुद्ध “रक्षात्मक” कारबाहीका लागि बेलायती हवाई अड्डा प्रयोग गर्न अनुमति दिएको निर्णयलाई पनि ट्रम्पले “अत्यन्तै अलोकप्रिय कदम” भनेका छन्।
ट्रम्पले आफूले सहयोगी राष्ट्रहरूको प्रतिबद्धता परीक्षण गर्न खोजेको दाबी गर्दै भने, “म मानिसहरूको परीक्षा लिइरहेको थिएँ। उनीहरू वास्तवमै हाम्रो पक्षमा उभिन्छन् कि उभिँदैनन् भन्ने हेर्न चाहन्थेँ। हामीले सधैँ उनीहरूलाई साथ दिएका छौँ, तर उनीहरू हाम्रो लागि उभिन्छन् भन्नेमा म विश्वस्त थिइनँ।”
उनका अनुसार इटाली, जर्मनी र फ्रान्सले पनि अमेरिकाको अनुरोध अस्वीकार गरेका थिए।













