सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

Image

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।

संसद् सचिवालयअन्तर्गतको सांसद सुविधा व्यवस्थापन शाखाले सूचना जारी गर्दै सांसदहरूलाई आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण स्रोत र प्रमाणसहित पेस गर्न निर्देशन दिएको हो।

सूचनाअनुसार सांसदहरूले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्म सम्पत्ति विवरण बुझाइसक्नुपर्नेछ।

भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ।

तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने सांसदमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने संसद् सचिवालयले जनाएको छ।