सुनसरीको देवानगञ्जमा भएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनामा उनीहरूको संलग्नता वा भूमिका रहे–नरहेको विषयमा अनुसन्धान गर्न केही व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम तथा पहिचान सार्वजनिक गरेको छैन। डीएसपी खड्काले नियन्त्रणमा लिइएकाहरू घटनामा संलग्न थिए वा थिएनन् तथा उनीहरूको भूमिका के थियो भन्नेबारे सूक्ष्म अनुसन्धान भइरहेको बताए।
उनका अनुसार देवानगञ्ज घटनालाई उत्तेजित बनाउने, आगजनी गर्ने वा अन्य हिंसात्मक गतिविधि फैलाउन उनीहरूको भूमिका थियो कि थिएन भन्ने विषय पनि अनुसन्धानबाट खुल्नेछ।
प्रहरीले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले पोस्ट गरेका सूचना तथा दाबीलाई आधिकारिक नमान्नसमेत आग्रह गरेको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका कोसी प्रदेश सदस्य दिपेन्द्र मेहताले केही युवाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरू देवानगञ्ज घटनासँग सम्बन्धित रहेको दाबी गरेका छन्। तर प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम, समुदाय वा अन्य पहिचान खुलाएको छैन।















